२२ कात्तिक, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा क्रिकेट रंगशाला निर्माण गरिने भएको छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा क्रिकेट रंगशाला निर्माण गर्ने बताएका छन् । २०२४ को टी–२० क्रिकेट विश्वकपमा छनोट भएको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको सम्मानमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले छिट्टै क्रिकेट रंगशाला बनाउने घोषणा गर्नेछ । सो अवसरमा प्रधानमन्त्रीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रियस्तरमा नेपालको साख बढाएकोमा टोलीको प्रशंसा पनि गर्नुभयो । उनले भने, ‘दश वर्षपछि नेपाल टी–२० विश्वकपमा छनोट भएको छ, त्यसका लागि पनि मिहिनेत गर्नुहोस् । नेपालीहरु विशेष गरी युवाहरुको क्रिकेट खेलप्रतिको लगाव बढेको उल्लेख गर्दै उनले भने, ‘यस लगावले सरकारलाई पनि उत्प्रेरित गरेको छ, हामी खेलाडीलाई प्रोत्साहन गर्न, उनीहरुका लागि थप लगानी गर्न र खेलकुद पूर्वाधार विकास गर्न प्रेरित भएका छौँ ।
खेलकुद क्षेत्र देशको प्रतिष्ठा बढाउने महत्वपूर्ण क्षेत्र भएको बताउँदै प्रधानमन्त्रीले यसमा क्रिकेटको भूमिका महत्वपूर्ण रहेको बताए । भरतपुर, मुलपानी र कीर्तिपुरमा क्रिकेट रंगशालाको कामलाई तीव्रता दिइनेछ । केही कानुनी र प्रक्रियागत समस्याका कारण क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरणमा ढिलाइ भएको स्वीकार गर्दै प्रधानमन्त्रीले आगामी दिनमा यस्तो नहोस् भन्ने सरकार सचेत रहेको बताए ।
सो अवसरमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफू निकै उत्साहित भएको बताए । “टियू क्रिकेट रंगशालाको पूर्वाधार सुधार लगायतका सरकारको प्रयासप्रति हामी आभारी छौं। बाँकी काम छिट्टै सम्पन्न हुनेमा हामी विश्वस्त छौं,” कप्तान पौडेलले भने।
१६४ पटक हेरीएको