२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (सीएसीसीआई) का अध्यक्ष पिटर म्याकमुलिन र उनको प्रतिनिधिमण्डलका सदस्यहरुसँगको भेटमा उनले नेपालको आर्थिक समृद्धिको यात्रामा सहकार्य गर्न खोजेका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि उपयुक्त कानुन र अनुकूल वातावरण रहेको बताउँदै लगानीकर्तालाई सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको बताए ।
सो अवसरमा सीएसीसीआईका अध्यक्ष म्याकमुलिनले नेपाल र सीएसीसीआईका सदस्यहरूबीच लगानी र आर्थिक व्यापार सम्बन्ध विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्य सचिव डा वैकुण्ठप्रसाद अर्याल र सीसीसीआईका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) सीएसीसीआईको संस्थापक सदस्य हो।
१५४ पटक हेरीएको