१२ माघ, काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रबाट पाठ्यपुस्तक छपाईको कार्य जारी रहेकोले आगामी शैक्षिक सत्र सुरु हुनुअघि नै देशभरका विद्यालय तहका विद्यार्थीले पाठ्यपुस्तक पाउने पक्का भएको छ । प्रधानमन्त्री सचिवालयको टोलीले पाठ्यपुस्तक छपाईको कामको अनुगमन गरी नयाँ शैक्षिकसत्र आउनुअघि नै काम सम्पन्न गर्न केन्द्रका पदाधिकारीलाई निर्देशन दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयसीमा पूरा गर्न निर्देशन दिएपछि चालू शैक्षिक सत्रमा इतिहासमै पहिलो पटक नयाँ कक्षामा भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाएका छन् ।
पीएमओबाट अनुगमन टोलीसँगको भेटमा केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले समयमै विद्यालयको पाठ्यपुस्तक उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । “(पुस्तक) छपाईका लागि आवश्यक कागजपत्र खरिद गरिएको छ र दिनको दुई सिफ्टमा छपाईको काम चौबीसै घण्टा चलिरहेको छ। डिपोमा पुस्तक आपूर्ति पनि एकैसाथ भइरहेको छ,” झाले भने। सरकारले कक्षा १ देखि ५ सम्मका पुस्तक निजी छापाखानामा र कक्षा ५ देखि १२ सम्मका पुस्तक केन्द्रमा छाप्ने निर्णय गरेसँगै पाठ्यपुस्तकको छपाई अघि बढेको छ । त्यसैगरी पाठ्यक्रम विकास केन्द्रले निजी क्षेत्रबाट छापाखाना छनोट गर्न टेन्डर सूचना जारी गरिसकेको छ । केन्द्रका अनुसार कक्षा ५ देखि १२ सम्मका १ करोड ७० लाख पाठ्यपुस्तकमध्ये ६५ लाख पाठ्यपुस्तक मात्र छाप्न बाँकी छ । केन्द्रले दैनिक ७० हजारदेखि ८० हजार पाठ्यपुस्तक छाप्ने तयारी गरिरहेको छ ।
प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसी, स्वकीय सहसचिव गोकर्ण भट्ट, सहसचिव संगीता ओझालगायतका अधिकारीले बिहीबार भक्तपुर केन्द्रको आकस्मिक भ्रमण गरी पाठ्यपुस्तक छपाईमा गुणस्तरीयता सुनिश्चित गर्न, छापिएका पाठ्यपुस्तकको संरक्षण र सुनिश्चितता गर्न केन्द्रलाई निर्देशन दिएका हुन् । मुद्रण कागजको उचित उपयोग।
१३२ पटक हेरीएको