कर्णाली

सल्यानमा स्थानियले टिप्पर बन्द गर्दा, वैकल्पिक बाटोको प्रयोग गर्दै टिप्पर चालकहरु

सल्यानमा स्थानियले टिप्पर बन्द गर्दा, वैकल्पिक बाटोको प्रयोग गर्दै टिप्पर चालकहरु

सल्यानको कपुरकोट–कोइला सडक खण्डमा चल्ने चुनढुङ्गा बोकेका अत्यधिक भारवाहक टिप्पर सञ्चालनमा रोक लगाउँदै स्थानीयवासी र विद्यार्थी सडकमा उत्रिएका छन् । वर्षौँदेखि धुलो, खाल्डाखुल्डी र सडकको जीर्ण अवस्थाले सास्ती खेप्दै आएका स्थानीयहरूले सडक पूर्ण रूपमा कालोपत्रे गर्नुपर्ने माग राख्दै आन्दोलन थालेका हुन् ।

बुधबार कपुरकोट गाउँपालिका वडा नम्बर ५ स्थित मिलन बजार व्यवस्थापन समिति र मिलनबजार युवा क्लबको नेतृत्वमा भएको १२७ जना स्थानीय तथा सरोकारवालाको भेलाले टिप्पर सञ्चालन बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालय सल्यान, जिल्ला प्रहरी कार्यालय र कपुरकोट गाउँपालिकालाई दिइसकिएको मिलन बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर विकले बताएका छन्।

उनका अनुसार अत्यधिक धुलो, भारी टिप्परको आवतजावत, सडकको भत्किएको अवस्था र त्यसले स्थानीय जीवन, स्वास्थ्य तथा विद्यालय जाने बालबालिकाको सुरक्षामा गम्भीर असर पारेपछि अन्तिम विकल्पका रूपमा आन्दोलन गर्नुपरेको हो । उद्योगले पानी छर्केर धुलो कम गर्ने प्रयास गरे पनि त्यसलाई औपचारिकता मात्र भन्दै सडक कालोपत्रे नभएसम्म टिप्पर चल्न नदिने स्थानीयको अडान छ ।

स्थानीयहरूले २०७९ मा कपुरकोट गाउँपालिका, उद्योगी र टिप्पर व्यवसायीबीच भएको सात बुँदे सहमति—सडक मर्मत, धुलो नियन्त्रण, कालोपत्रे पहल, विद्यालय समयमै टिप्पर रोक, सामाजिक उत्तरदायित्व कोष, रोजगारी प्राथमिकता र संयुक्त अनुगमन—कार्यान्वयन नभएको आरोप लगाएका छन् ।

यता कपुरकोट क्षेत्रमा टिप्पर बन्द भएपछि त्रिवेणी गाउँपालिका वडा नं ४ निगालपानी हुँदै त्रिवेणी गाउँपालिका वडा नं २ द्धारपानी, घोगें, दहबन तथा रुन्टिगढी गाउँपालिका केन्द्र होलेरी हुँदै दाङतर्फ वैकल्पिक मार्ग प्रयोग भइरहेको छ । उक्त कच्ची सडकमा दैनिक धेरै संख्यामा टिप्पर गुड्दा अत्यधिक धुलो उड्न थालेको र शिव माध्यमिक विद्यालय द्धारपानीको पठनपाठनमा समेत असर परेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

२४२ पटक हेरीएको

सम्बन्धित समाचार