विद्युतिय वित्तीय सेवा मार्फत महिला कृषक सशक्तिकरण गर्ने उद्देश्यले डिप्रोक्स नेपाल र प्राक्टिकल एक्सनले सञ्चालन गरेको ‘Empowering Women Farmers with Digital Finance, Nepal – Samunnati Digital Finance Project’ को समापन कार्यक्रम त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको छ ! करिब ३० महिना सञ्चालनमा रहेको परियोजनाको समापन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा परियोजना सम्वद्ध महिला सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो !
वक्ताहरूले गाउँपालिकाको आर्थिक र सामाजिक विकासका एजेन्डामा महिलाको नेतृत्व सुनिश्चित गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताएका छन् ! परियोजनाअन्तर्गत त्रिवेणी गाउँपालिकाका १२७ मध्ये ११९ जना महिलालाई डिजिटल च्याम्पियनका रूपमा विकास गरिनुका साथै उनीहरूलाई डिजिटल वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षक तालिम (ToT) सञ्चालन गरेर स्थानीय जनशक्ति तयार गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ! गाउँपालिकाभर ४८ र २२ गरी ७० वटा कक्षामार्फत ७५९ र ६५८ गरी कुल १,४१७ जना सहभागी, जसमध्ये करिब ७२ प्रतिशत महिला रहेकालाई वित्तीय साक्षरता, डिजिटल वित्तीय साक्षरता, महिला सशक्तिकरण तथा उद्यम विकाससम्बन्धी तालिम प्रदान गरिएको छ ! डिजिटल च्याम्पियन र सहभागी परिवारको घरघरमा इन्टरनेट जडान गर्न सहयोग गरिएकाले महिलाले मोबाइल बैंकिङ, डिजिटल वालेट, अनलाइन भुक्तानी तथा अन्य औपचारिक वित्तीय सेवामा घरमै बसेर पहुँच बढाउन सकेको परियोजनाले जनाएको छ ! वित्तीय साक्षरता कक्षाका सहभागी र उनीहरूका परिवारको औपचारिक वित्तीय संस्थासँग जोडिनेतर्फको रुचि बढेको, नियमित बचत गर्ने बानी बस्न थालेको तथा आम्दानी–खर्च योजना बनाई उद्यम सञ्चालन गर्न थालिएको निष्कर्ष पनि प्रस्तुत गरिएको छ ! समापन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षले परियोजनाले दूरदराजका महिला कृषकलाई डिजिटल प्रविधि र वित्तीय ज्ञानसँग जोडेर आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण टेवा पुगेको बताए ! अध्यक्षका अनुसार गाउँपालिकाले आगामी वर्षको योजना र बजेटमार्फत सफल डिजिटल च्याम्पियन समूह र स्वयं सहायता समुहहरूलाई प्रविधिमैत्री कृषि उद्यम, सहकारी विस्तार तथा लगानी प्रवद्र्धनतर्फ आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ! डिप्रोक्स नेपालका प्रतिनिधिहरूले त्रिवेणी गाउँपालिकामा प्राप्त उपलब्धिलाई आधार बनाएर अन्य जिल्लामा पनि महिलामैत्री डिजिटल वित्तीय कार्यक्रम विस्तार गरिने जानकारी दिए ! सहभागी महिलाहरूले परियोजना सकिएपछि पनि समूहगत बचत, सहकारीमार्फत ऋण लगानी, डिजिटल माध्यम प्रयोग गरी कृषिजन्य उत्पादनको बजार खोजी जस्ता पहललाई निरन्तर अघि बढाउने संकल्प व्यक्त गर्दै परियोजना सञ्चालक संस्था र स्थानीय तहप्रति आभार प्रकट गरेका छन् !
समापन कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू,/प्राक्टिकल एक्सनका कन्ट्री डायरेक्टर, डिप्रोक्स नेपालका उप–निर्देशक,पूर्व कन्ट्रि डाइरेक्टर,पालिका कर्मचारी, संस्थाका कर्मचारी लगायतको उपस्थिति रहेको थियोे !
४३५ पटक हेरीएको