असोज १२, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको हुम्ला जिल्ला हुँदै चीनको लोकप्रिय हिन्दू तीर्थस्थल कैलाश हिमाल र मानसरोवर तालको दर्शन गर्न सहज व्यवस्था मिलाइने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले बिहीबार कैलाश हिमाल र मानसरोवर तालको भ्रमण गरेका छन् । तीर्थस्थलको भ्रमणपछि रासससँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्रीले नेपाली मार्गबाट कैलाश हिमाल र मानसरोवर तालको दर्शन गर्न पाउने व्यवस्था मिलाइने बताए ।
प्रधानमन्त्रीका अनुसार हुम्ला हुँदै कैलाश हिमाल र मानसरोवरसम्म नेपाली, भारतीयलगायत देशका पर्यटक तथा तीर्थयात्रीलाई यात्रा गर्न दिने उद्देश्यले चीन सरकारसँग सैद्धान्तिक सम्झौता भएको छ ।
मानसरोवर ताल चीनको तिब्बत स्वायत्त क्षेत्रको न्ग्रीबाट करिब २५० किलोमिटर टाढा छ र हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटबाट मात्र १६० किलोमिटर टाढा छ।
तर, यात्रा भाडा, दूरी, समय, भिसालगायतका कारणले नेपाली र भारतीय पर्यटकका लागि यो बाटो राम्रो भए पनि सिमिकोटदेखि मानसरोवर तालसम्मको कच्ची सडकले यात्रुलाई सास्ती थपेको छ ।
कैलाश हिमाल र मानसरोवर ताल हिन्दूहरूको पवित्र तीर्थस्थल हो।
प्रधानमन्त्री तिब्बत एयरलाइन्सको उडानमा ल्हासाबाट यहाँ आइपुगेका हुन् । उनीसँगै नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्य पनि थिए । उनी शुक्रबार बिहान चीनको छेन्दु जाँदैछन् ।
१३७ पटक हेरीएको