बैँक / वित्त

नेपालमा लगानी गर्न ऊर्जामन्त्रीको आग्रह

नेपालमा लगानी गर्न ऊर्जामन्त्रीको आग्रह

कार्तिक ४, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध रूपमा पहल गरिरहेको बताउनुभएको छ ।

थाइल्याण्डको बैंककमा शुक्रबार भएको तेस्रो एसियाली तथा प्रशान्त ऊर्जा मञ्चलाई सम्बोधन गर्दै उनले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल लक्ष्य रहेको बताए ।

मन्त्री सचिवालयका अनुसार नेपालले अहिलेसम्म २ हजार ८ सय मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिसकेको र रन अफ रिभर, अर्धजलाशय र जलाशयमा आधारित जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको मन्त्रीले बैठकमा जानकारी गराए । उनले नेपाल नवीकरणीय उर्जाको विकासका लागि पनि उत्तिकै सम्भाव्य रहेको बताए ।

नेपालमा विविध भूगोल भएकाले अफ-ग्रिड ऊर्जा प्रणाली आवश्यक रहेको बताउँदै मन्त्रीले नेपालमा नवीकरणीय ऊर्जाको वितरण साना तथा मझौला प्रसारण लाइनबाट भइरहेको बताए ।

बैठकमा मन्त्रीले नेपालले ऊर्जा सुरक्षालाई प्राथमिकता दिएको र अतिरिक्त विद्युत् उत्पादनको सीमापार व्यापार सुनिश्चित गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

‘नेपालले स्वदेशी तथा विदेशी तथा सार्वजनिक–निजी लगानी परिचालन गरी प्रसारण तथा वितरण प्रणालीको क्षमता अभिवृद्धि, स्वच्छ ऊर्जाको प्रवद्र्धन र उत्पादन, प्रसारण, वितरण र व्यापार विस्तार चाहेको बताए ।

मन्त्रीले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्न फोरमको उपयोग गरे।

नेपाल जलवायुको उच्च जोखिममा रहेको बताउँदै मन्त्रीले वातावरणीय सुरक्षाका लागि पनि नवीकरणीय ऊर्जा नेपालको प्राथमिकता रहेको बताए । उनले नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य राखेको र त्यसैअनुसार काम गरिरहेको बताउँदै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय समुदायबाट सहयोग र सहयोगको अपेक्षा गरेको बताए ।

१९५ पटक हेरीएको

सम्बन्धित समाचार