५ मंसिर, काठमाडौं । जाजरकोटमा गएको मंसिर २१ गते गएको भूकम्पबाट घरबारविहीन भएकाहरुको अस्थायी आवास निर्माणका लागि सरकारले १ अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ ।
सरकारको निर्णयअनुसार जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्लाका लागि पहिलो किस्ताको रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । उक्त रकममध्ये जाजरकोट र रुकुमपश्चिम जिल्लाले ५०–५० करोड रुपैयाँ पाउने एनडीआरआरएमएका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यान जिल्लाका लागि दुई करोड विनियोजन गरिएको छ । यसअघि मंसिर १२ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले भूकम्पपीडितलाई कानुनी सहजीकरणका लागि अस्थायी आवास निर्माण निर्देशिका २०८० स्वीकृत गरेको थियो । निर्देशिकामा उल्लेख भएबमोजिम पहिलो किस्ताको रकम निकासा गरिएको खड्काले बताए ।
लाभार्थी छनोट गरी सम्बन्धित स्थानीय तहबाट रकम जुटाइने र कानूनमा उल्लेख भएबमोजिम खाता व्यवस्थापन गर्ने र लेखापरीक्षण पनि गरिनेछ ।
१७९ पटक हेरीएको