समाचार

प्रधानमन्त्रीको भ्रमणका क्रममा भएको समझदारीलाई साकार बनाउँदै नेपाल र भारतबीच विद्युत् निर्यातसम्बन्धी दीर्घकालीन सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्रीको भ्रमणका क्रममा भएको समझदारीलाई साकार बनाउँदै नेपाल र भारतबीच विद्युत् निर्यातसम्बन्धी दीर्घकालीन सम्झौतामा हस्ताक्षर

२० पौष, काठमाडौं । नेपाल र भारतबीच आज विद्युत्सम्बन्धी दीर्घकालीन सम्झौतामा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुवै देशका सचिवहरूले उक्त दस्तावेजमा हस्ताक्षर गरे ।

सम्झौतामा हस्ताक्षरसँगै आगामी १० वर्षभित्र नेपालबाट भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने द्विपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका तर्फबाट ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको २०२३ मे ३१ देखि जुन ३ सम्मको भारत भ्रमणका क्रममा विद्युत् निर्यातसम्बन्धी द्विपक्षीय समझदारी भएको थियो। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट दीर्घकालीन विद्युत खरिद गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेका थिए । यस विषयमा सहमति।

भारतको संघीय मन्त्रिपरिषद्ले यस सम्बन्धमा समझदारी पत्र (एमओयू) लाई पहिले नै अनुमोदन गरिसकेको छ। भारतका विदेशमन्त्री डा सुब्रह्मण्यम जयशंकरको दुईदिने भ्रमणका क्रममा आजबाट उक्त सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौतापछि भारतका विभिन्न सरकारी तथा निजी संस्थाले नेपालसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सम्झौतामार्फत विद्युत् व्यापार गर्ने छन् । नेपालका निजी क्षेत्रले पनि आवश्यक प्रक्रिया पूरा गरी विद्युत् आयात निर्यातमा सहभागी हुन सक्नेछन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले विद्युत निर्यातको विषय ऐतिहासिक र महत्वपूर्ण भएको टिप्पणी गरेका थिए । सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा विकास रणनीति तयार गरिसकेको छ ।

२८ हजार मेगावाट विद्युत्मध्ये १५ हजार मेगावाट बिजुली भारतसहित विभिन्न देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ ।सम्झौतापछि नेपालको ऊर्जा क्षेत्रको विकासका लागि ढोका खुल्ने उल्लेख गर्दै निजी क्षेत्रले सम्झौताको स्वागत गरेको छ । सरकारले निजी क्षेत्रलाई साथमा लिएर ऊर्जा क्षेत्रको विकासमा गुणस्तरीय परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

यसअघि ऊर्जामन्त्री बस्नेतसँग भारतीय ऊर्जा सचिव अग्रवालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको थियो । सो अवसरमा ऊर्जामन्त्री बस्नेतले दुई देशबीच ऊर्जा क्षेत्रमा सार्थक सहकार्यको थालनी भएकोमा खुशी व्यक्त गर्दै यसलाई थप निष्कर्षमा पु¥याउन आवश्यक रहेको बताए । उनले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौताले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने बताए ।

ऊर्जामन्त्रीले ठूला आयोजनामा ​​भारतीय लगानीको अपेक्षा गर्दै अन्य आयोजनालाई पनि तोकिएको समयमा पूरा गर्न आग्रह गरे ।

२५८ पटक हेरीएको

सम्बन्धित समाचार