९ माघ, काठमाडौं । निर्वाचन आयोगले घोषणा गरेअनुसार राष्ट्रियसभा निर्वाचनको मौन अवधि आजदेखि लागू हुने भएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै आजदेखि सुरु हुने सबै प्रचारप्रसारका गतिविधिमा रोक लगाउन निर्देशन दिएको हो ।
यो मौन अवधि मतदान प्रक्रिया समाप्त नभएसम्म जारी रहनेछ। यस मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, आबद्ध संघसंस्था र आचारसंहिताले बाँधिएका निकायहरूलाई कुनै पनि किसिमको छलफल, अन्तरक्रिया, बैठक, सम्मेलन, कार्यशाला वा निर्वाचनसम्बन्धी कुनै पनि प्रचारप्रसारमा संलग्न हुन पूर्ण रूपमा निषेध गरिएको छ। साथै आयोगले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट कुनै पनि प्रकारको मत माग्ने वा चुनावी प्रचार गर्न नपाइने बताएको छ । साथै, सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म, प्रिन्ट मिडिया वा अन्य कुनै पनि माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्रीहरू सम्प्रेषण गर्न पूर्ण रूपमा निषेध गरिएको छ। राष्ट्रियसभा सदस्यको निर्वाचन जनवरी २५ गते बिहान ९ बजेबाट सुरु भई दिउँसो ३ बजे सम्पन्न हुनेछ । ६ वर्षे कार्यकाल सकिएका १९ सदस्यको रिक्त पद पूर्ति गर्न यो निर्वाचन हुन लागेको हो । कार्यकाल पनि सकिएको २० सदस्यको हकमा राष्ट्रपतिले एक जनालाई मनोनीत गर्नेछन् ।
महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक र अन्य समुदायको सहभागिता सुनिश्चित गरी समावेशीतामा केन्द्रित भएर विभिन्न प्रदेश र क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरू निर्वाचित गर्ने यस निर्वाचनको उद्देश्य छ।
१७२ पटक हेरीएको