अन्य

त्रिवेणी गाउँपालिकामा चाडपर्वका बेला सुरक्षाबारे सर्वदलीय बैठक सम्पन्न

त्रिवेणी गाउँपालिकामा चाडपर्वका बेला सुरक्षाबारे सर्वदलीय बैठक सम्पन्न

रोल्पा, त्रिवेणी गाउँपालिकामा चाडपर्व तथा मेला–महोत्सवका अवसरमा हुन सक्ने अवाञ्छित गतिविधिहरूको रोकथाम र नियन्त्रणका विषयमा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

गाउँपालिकाको कार्यपालिका भवनमा बिहीबार दिउँसो १ बजे गाउँपालिका अध्यक्ष कर्णबहादुर बाठा मगरको अध्यक्षतामा बसेको बैठकमा गाउँ कार्यपालिकाका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षानिकायका प्रमुख, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो।

बैठकमा कार्यपालिका सदस्य अमृता घर्ती बुढा मगर, स्वास्थ्य अधिकृत भूपबहादुर केसी, बालकल्याण अधिकारी धरेन्द्रप्रसाद दागी, जलजला यातायात प्रालिका इन्चार्ज देवबहादुर दागी र अन्य सरोकारवालाहरू पनि उपस्थित थिए।

बैठकले चाडपर्वका अवसरमा सामाजिक सद्भाव, शान्ति र सुरक्षालाई सुदृढ गर्न लक्षित पाँच बुँदे निर्णय सर्वसम्मतिले पारित गरेको छ।

बैठकका निर्णयहरू;-
पहिलो निर्णय अनुसार, गाउँपालिकाभित्र चाडपर्व तथा मेला–महोत्सवका बेला जुवा, चोरी, मदिरा सेवनपछि हुने झगडा, तोडफोड, कालाबजारी, गुणस्तरहीन खाद्यवस्तुको बिक्री वितरणजस्ता अवाञ्छित क्रियाकलाप रोकथामका लागि जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी र टोल विकास संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य गर्ने सहमति गरिएको छ।

दोस्रो निर्णयमा, स्थानीयवासीलाई राति घरबाहिर बत्ती बाल्न अनुरोध गर्ने, बिग्रिएका सिसी क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याउने र वडा कार्यालय तथा सुरक्षानिकायले माइकिङमार्फत जनचेतना फैलाउने निर्णय भएको छ। साथै, भैलो खेल्ने समय बिहान ६ बजेदेखि राति १० बजेसम्म सीमित गर्न सर्वसम्मत निर्णय गरिएको छ।

तेस्रो निर्णयअनुसार, चाडबाड अवधिमा खाद्यवस्तुको गुणस्तर सुनिश्चित गर्न बजार अनुगमन गर्ने, सवारीसाधनको चेकजाँच कडाइ गर्ने, क्षमताअनुसार यात्रु राख्ने र अटो–रिक्सा सञ्चालन व्यवस्थित गर्न गाउँपालिकाले आवश्यक कार्यविधि तयार गर्ने अनुरोध गरिएको छ।

चौथो निर्णयमा, गाउँपालिकाभित्र सडकबत्ती र सिसी क्यामेरा विस्तारका लागि लागत साझेदारी कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न त्रिवेणी गाउँपालिकालाई अनुरोध गर्ने निर्णय पारित भएको छ।

पाँचौँ निर्णयमा, चाडबाड लक्षित सुरक्षा गस्ती सञ्चालन र सूचना प्रचार–प्रसारका लागि सुरक्षानिकायलाई आवश्यक इन्धन र मोटरसाइकलको व्यवस्था गर्न गाउँपालिकाले सहयोग गर्ने निर्णय गरिएको छ।

बैठकमा सहभागी सरोकारवालाहरूले चाडपर्वका अवसरमा गाउँपालिकाभित्र शान्ति, सद्भाव र सुरक्षाको वातावरण कायम राख्दै सुरक्षित र उल्लासपूर्ण रूपमा पर्व मनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

३९८ पटक हेरीएको

सम्बन्धित समाचार