रोल्पा, रोल्पामा बोलेरो पिकअप जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि रोल्पा सुनछहरी गाउँपालिका–६ का ३२ वर्षीय थम्मन रोका मगरको ज्यान गएको हो ।
प्रहरीका अनुसार कार्तिक १२ गते राति करिब ९ बजेर ५० मिनेटमा सुनिलस्मृति गाउँपालिका–४, धुलेओडारमा बोलेरो जिप (लु २ च ८०१५) दुर्घटनाग्रस्त भएको थियो । सुलिचौरबाट किलाचौरतर्फ जाँदै गरेको जिप बाटोबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अनिलकुमार चौधरीका अनुसार उक्त जिपमा चालकसहित चार जना सवार थिए — दुई पुरुष, एक महिला र एक बालिका । दुर्घटनापछि गम्भीर घाइते चारै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएको थियो ।
तर, उपचारका क्रममा चालक थम्मन रोका मगरलाई चिकित्सकले राति करिब ३ बजे मृत घोषणा गरेका थिए । अन्य तीन घाइतेहरू — लुङ्ग्री गाउँपालिका–७ हर्जङका ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री–४ सालडाँडाकी २७ वर्षीय भावना गिरी र उनकी करिब ५ वर्षीया छोरी शान्ति गिरीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल सुलिचौर बजारबाट करिब ४ किलोमिटर पूर्व–उत्तर तर्फ पर्छ । प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
३६५ पटक हेरीएको