मुख्य समाचार

काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको सुमो भीमफेदी मा दुर्घटना; ६ को मृत्यु

काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको सुमो भीमफेदी मा दुर्घटना; ६ को मृत्यु

भीमफेदी गाउँपालिका–६ जुरीखेतमा पर्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आइतबार सुमो गाडी दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परेकामध्ये ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

गाडीमा चालकसहित ९ जना सवार रहेको र तीमध्ये ६ जनाको मृत्यु भएको स्थानीयवासी सुरेन्द्र थिकेले जानकारी दिए। मृतक तथा घाइतेहरूको पहिचान हालसम्म खुल्न सकेको छैन। मृतकहरूको शव हेटौंडा ल्याइएको छ।

घाइते तीन जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ।

दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले घाइते र मृतकको उद्धार गरेको थियो। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब तीन किलोमिटर उत्तर–पूर्वतर्फ पर्छ।

उक्त सडकखण्डमा यसअघि पनि तीनवटा हलुका सवारी साधन दुर्घटना भइसकेको प्रहरीले जनाएको छ। हाल सुमो गाडी दुर्घटनास्थलमै रहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

२०८ पटक हेरीएको

सम्बन्धित समाचार