रोल्पा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिट्ब्युरो सदस्य चुडामणि वली ‘आदर्श’ ले एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट संघीय संसद सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार आफ्ना कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय, लिबाङ पुगेर वलीले उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले रोल्पाली जनताले फेरि एकपटक इतिहास रच्ने समय आएको बताएका छन्। विभिन्न कालखण्डमा रोल्पाली जनताले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै वलीले भने, “रोल्पाबाट निर्वाचित भएर गएका नेताहरूले जिल्लालाई फर्केर हेरेनन्। उनीहरू भ्रष्टाचार र सुन तस्करीजस्ता गतिविधिमा संलग्न भए, जनताको जीवनस्तर उकास्नुभन्दा निजी स्वार्थमै केन्द्रित भए।”
पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को निर्देशनमा आफू उम्मेदवारी दिन आएको उल्लेख गर्दै वलीले चुनाव जितेपछि संघीय संसदमा पुगेर भुइँमान्छेका मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए।
आफ्नो जीवन राजनीति र जनसंघर्षमै समर्पित रहेको बताउँदै उनले व्यक्तिगत लाभभन्दा देश र जनताको पक्षमा आवाज उठाउने आफ्नो मूल उद्देश्य रहेको स्पष्ट पारे।
पश्चिम रोल्पाको गंगादेव गाउँपालिका–३, झ्याम निवासी वली शहीद परिवारका सदस्य हुन्। उनका कान्छा भाइ खकेन्द्र वली ‘शिव’ जनयुद्धका क्रममा कपुरकोट रिपिटर टावर आक्रमणमा शहीद भएका थिए। जनयुद्धका बेला वलीको सम्पूर्ण परिवार नै पूर्णकालीन रूपमा जनसंघर्षमा संलग्न रहेको बताइएको छ।
२७२ पटक हेरीएको