मनोरञ्जन

रास्वपाद्वारा ज्ञापनपत्रमार्फत परिवर्तन गाउँपालिकासँग २०७४ पछिका योजना विवरण माग

रास्वपाद्वारा ज्ञापनपत्रमार्फत परिवर्तन गाउँपालिकासँग २०७४ पछिका योजना विवरण माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यालय, लिवाङले परिवर्तन गाउँपालिकासँग वि.सं. २०७४ पछि सञ्चालन भएका विकास योजनाहरूको विस्तृत विवरण माग गर्दै ज्ञापनपत्र बुझाएको छ।

रास्वपा परिवर्तन गाउँपालिका संयोजक गण बहादुर के.सी. र उप संयोजक स्याम बि.सी.ले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई उक्त ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र पार्टीका सचिव भुपेन्द्र सिंह वलीद्वारा हस्ताक्षरित रहेको छ।

पत्रमा “गाउँ–गाउँमा सिंहदरबार” भन्ने नाराअनुसार स्थानीय तहमा सेवा प्रवाह विस्तार भए पनि पछिल्लो समय सञ्चालन भएका विकास योजनाहरूको प्रभावकारिता, पारदर्शिता तथा दीर्घकालीन उपलब्धिका विषयमा नागरिकस्तरबाट चासो र प्रश्न उठिरहेको उल्लेख गरिएको छ। सोही सन्दर्भमा रास्वपाले २०७४ सालदेखि हालसम्म निर्वाचित जनप्रतिनिधिहरूको कार्यकालमा सम्पन्न योजनाहरूको यथार्थ अवस्था अध्ययन गर्न आवश्यक ठानेको जनाएको छ।

 


रास्वपाले योजनाको नाम, स्थान, लागत, सम्पन्न मिति तथा वर्तमान अवस्थासहित ती योजनाहरू व्यवहारमा कत्तिको प्रभावकारी छन् भन्ने विवरण माग गरेको छ। साथै, कार्य सम्पन्न भइसकेपछि गरिएको मूल्याङ्कन (Post-Implementation Review) सम्बन्धी प्रतिवेदन, गुणस्तर, दिगोपन तथा प्रभावको विश्लेषणसमेत उपलब्ध गराउन अनुरोध गरिएको छ।
त्यसैगरी, उपभोक्ता समितिमार्फत सम्पन्न योजनाहरूमा सार्वजनिक सुनुवाइ (Public Audit) गरिएको वा नगरिएको विवरण, गुणस्तर परीक्षण तथा दीर्घकालीन प्रभाव मूल्याङ्कनको अवस्थाबारे पनि जानकारी मागिएको छ।


पत्रमा योजना कार्यान्वयनका क्रममा अपनाइएका पारदर्शी प्रक्रिया, अनुगमन तथा मूल्याङ्कन संयन्त्रसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरिएको छ। रास्वपाले यी सबै विवरण लिखित वा डिजिटल माध्यममार्फत १५ दिनभित्र उपलब्ध गराउन अनुरोध गर्दै यसले सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
पार्टीले सुशासनको सुरुवात सबैबाट हुने उल्लेख गर्दै सम्बन्धित निकायबाट सकारात्मक सहयोगको अपेक्षा राखेको जनाएको छ।

२९८ पटक हेरीएको

सम्बन्धित समाचार