२१ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको विनाशकारी भूकम्पका कारण ३५ हजार परिवार घरबारविहीन भएका छन् ।
जाजरकोट र रुकुम पश्चिम लगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्णरुपमा भत्किएका छन् भने थप १७ हजार ५२९ माटोको घर व्यापक संरचनागत क्षतिका कारण बस्न नसक्ने भएका छन् । गृहमन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार राति संकलन गरेको पछिल्लो तथ्याङ्कअनुसार रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ ।
जिल्लाका १६ हजार ५७० घर भग्नावशेषमा परेका छन् भने थप ९ हजार ९ सय ६१ घरमा आंशिक क्षति पुगेको छ । जाजरकोटमा १ हजार १ सय ७० घर पूरै भत्किएका छन् भने ७ हजार १ सय ६६ घर असुरक्षित अवस्थामा रहेका छन् । भूकम्पका कारण १ सय ५७ जनाको ज्यान गएको र १ सय ३३ जना घाइते भएका जाजरकोटमा सबैभन्दा बढी मानवीय सङ्ख्या पनि रहेको छ । रुकुम पश्चिममा ५२ जनाको ज्यान गएको छ भने १९७ जना घाइते भएका छन् ।
त्यसैगरी रुकुम पूर्व, रोल्पा, नवलपरासी पूर्व, सल्यान, दाङ, बैतडी, जुम्ला, दैलेख, कालिकोट, अछाम र प्यूठानमा भूकम्पले फरक फरक प्रभाव पारेको छ ।
१७५ पटक हेरीएको