नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनले परिवर्तन गाउँपालिका अन्तर्गत राङ्सी पोखरा, चप्का, बागमारा, मौलाबोट र कुरेलीमा आज मतदाता भेटघाट कार्यक्रम गरेका छन्। उनले भोलि थबाङसम्म पुगेर कार्यक्रम निरन्तरता दिने तयारी रहेको बताएका छन्।
भेटघाट कार्यक्रममा परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा, निवर्तमान अध्यक्ष निमकान्ता डागी, वडा नं. २ का अध्यक्ष तथा प्रवक्ता हरिप्रसाद बुढा थुर्पा सञ्चार सहसंपादक लोकेन्द्र केःसी लगायत विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, सहिद परिवार, घाइते र स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।

कार्यक्रममा पुनले शिक्षा र स्वास्थ्य सेवा सुधार, युवालाई रोजगारी सिर्जना, कृषि उत्पादन बढाउने र किसानका उत्पादनलाई बजारसम्म पुर्याउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्। साथै खानेपानी, सिँचाइ र खेलकुदजस्ता आधारभूत पूर्वाधार विकासमा ध्यान दिने प्रतिबद्धता जनाएका छन्।
उनले भाषा, संस्कृति र इतिहासको संरक्षण गर्दै पर्यटन विकास, महिला, दलित र युवाको सशक्तीकरण, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको बताए। साथै जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने उल्लेख गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टी रोल्पा जिल्ला निर्वाचन परिचालन समितिले प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ गते तारा चिन्हमा मतदान गर्न सबै मतदातासमक्ष अपिल गरेको छ।
२९४ पटक हेरीएको